• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 02:12:00

यात्रा, दृश्य र भविष्य



    दिनानाथ पौडेल 
बर्दघाट–१३ , नवलपरासी 

    बर्दघाट अवस्थित न्यू लाईफ माध्यमिक विद्यालयले आफ्ना शिक्षक शिक्षिकाहरुलाई पूर्र्वी नेपाल र भारतको सिक्किम तथा पश्चिम बङ्गाल राज्यको  दार्जिलिङ भ्रमण गराउदा यात्रा भर देखिएका दृश्यले छोडेका गहिरा अनुभूतिहरु एवम केहि सिक्किम्बासी नेपालीभाषी दाजुभाईहरुले दिएका जानकारीका आधारमा निकालिएको निष्कर्ष सिक्किमको सन्देशको रुपमा  यहा पस्कन खिजिएको छ ।स्वतन्त्र मुलुक  सिक्किमलाई सन् १९७५ मा एक राज्यको रुपमा भारतले गाभेपछी  त्यहाका नागरिकहरुमा ठुलै पिडा र असन्तुष्टि रहेको होला भन्ने अनुमान सत्य रहेनछ । सिक्किम राष्ट्र हुदाको पुरानो राजतन्त्रात्मक  युग भन्दा सिक्किम राज्य हुदाको बर्तमान लोकतान्त्रिक व्यवस्थाप्रति नेपालीभाषी नागरिकहरु खुसि र सुखी छन् भन्दा अत्युक्ति नहोला  । विश्वविद्यालय, विद्यालय, अस्पताल तथा अन्य सेवा प्रदायक संस्थाहरुले दिएको सेवा साच्चै नै प्रशंशायोग्य छ ।८२ प्रतिसत साक्षरताको तथ्यांकले सिक्किम राज्यको बलियो पक्षको उजागर गर्दछ । सिक्किमी नागरिकलाई भारतीय नागरिकमा बद्लिदा भएको आक्रोश र पिडालाई सम्भवत  बिकास, सेवा र सुविधाले मत्थर पारेको हुनु पर्दछ।


    करिव ६ लाख ५० हजार  जनसंख्या रहेको सिक्किम पुरै पाहाडको काखमा अवस्थित भारतको २९  राज्य मध्ये एक राज्य हो । चार धाम, टाशी भिउ टावर, अन्य अग्ला ठाउहरु तथा यात्रा गर्दा सवारीसाधन बाटै  दृश्य अवलोकन गर्दा देखिने पहाडका भिर पाखाहरुमा हरिया रुखहरु र लहलहाउँदो अन्नवालीले यहाका  वातावरणप्रेमी र पौरखी नागरिकहरुको पहिचान झल्काउदछ । उच्च डाँडाहरुमा निर्माण गरिएका धार्मिकस्थलहरु तथा हिमशिखर अवलोकन गर्न बनाइएका भ्युटावरहरुले पर्यटकहरुलाई पहिलो नजरमै खुसि बनाउनुको साथ साथै यस राज्यको आयस्रोतमा महत्वपूर्ण योगदान दिएको सहजै अनुमान लगाउन सकिन्छ । नेपालीहरुको बिरगाथासंग जोडिएको टिस्टा नदीको उच्चतम उपयोग गरि प्रशस्त बिजुली उत्पादन गरिएको छ । चकमन्न रातलाई झिलिमिली उज्यालो बनाउदै वगीरहेछ हाम्रा पुर्खाहरुको बिरताको समन्ध रहेको टिस्टा नदी । टिस्टा नदीको छेउमा हामी नेपाली उभिदा गर्वले छाती फुल्दो रहेछ अनि बाल्यकालमा पढेको कविता “............पश्चिम किल्ला कांगडा, पूर्वमा टिस्टा पुगेथ्यौ ,कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौ.............” को मिठो सम्झनामा हराईदो रहेछ । सायद टिस्टासंग जोडिएको हाम्रो नाता अनि नेपालीभाषी नागरिक भएकोले होला त्यहाँ पुगेपछि अन्य राज्यको तुलनामा सिक्किम राज्यप्रति बढो श्रद्दा भाव जाग्दो रहेछ ।


    राजधानी ग्याँन्टोकको साघुरा सडक र बजार  व्यवस्थापन उल्लेखलायक  छ । नियमको उल्लंघन अपराध हो भन्ने उच्च स्तरको सोच हरेक नागरिकमा पक्कै रहेको हुनु पर्दछ । सवारी चालकहरुले एकदमै अनुसासित भइ सवारी हाकेको देख्दा नेपालका सडक दुर्घटनाको प्रमुख कारण सवारी चालकको लापरवाही  नै हो भनि अनुमान लगाउन सकिन्छ । भिडभाडमा नत चालकले कहिँ ओभरटेक गरेको देखियो नत हर्न बजाएको नै । सडकपेटीमा फोहोर नदेखेपछि एक नागरिकलाई राखिएको जिज्ञाशामा हरेक घरमा राज्यले सड्ने र नसड्ने फोहोर राख्ने  बाल्टी प्रदान गर्ने र तोकिएको समयमा निश्चित ठाउमा बिसर्जन गर्ने परिपाटी आम संस्कारमा परिणत भइ सकेको जानकारीले यस पंक्तिकारलाई अचम्मीत बनायो । लामा कपाल पाल्ने, कानमा मुद्रा लाउने युवक बाटामा कहिँ देखिएनन । मादकपदार्थ सेवन गरि बाटोमा हिंडेको तथा उत्तेजित कुरा गरेको कुनै नागरिक देखिएनन । सिक्किमी नागरिकको जीवन शैली र व्यवहारले चोरी डकैती, पकेटमारको मनोबैज्ञानिक डर त्रास पूर्णतः हराएको अनुभूति हाम्रो ४३ सदस्यीय भ्रमण टोलीको रहयो । आफ्नो जन्मथलोको भन्दा पनि बढी सुरक्षाको अनुभूति सिक्किमले दिलाउदो रहेछ ।


    दुवै तिर लोभलाग्दो हरियाली पाहाडको काखमा  सघुरा भएपनि आकर्षक चिप्ला सिक्किम र दार्जिलिङका सडक हुदै नेपाली सीमा नजिकैको सेरोफेरो पुग्दा सवारी चालकले नांगा डाँडाजति नेपाल र हरिया डाँडा भारत हो भनि जानकारी दिदा खिन्नता र हीनताबोधले नराम्री पिरल्यो । पुर्व प्रधानमन्त्री झलनाथ खनाल र पुर्व शभामुख शुभास नेम्वांगले प्रतिनिधित्व गर्ने ईलाम जिल्लाको डाँडाहरुको यस्तो दुर्गति समग्र नेपाली नेताहरु र राजनीतिको कुरूप बिम्ब बनि बसेको अनुभूति गरियो । झापा, मोरंग, सुनसरी, सप्तरी, सिराहा, धनुषा,महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायत अन्य तराइका समथर भूभागबाट उत्तरतिर देखिने नाँगा पाहाडले प्राकृतिक स्रोत साधनको चरम दोहन–शोषण मात्र गर्ने, सदुपयोग गर्न नजान्ने नेपालीहरुलाई धिक्कारी रहेको छ । आफ्नै सन्तानबाट हेपिएका, पिल्सिएका बृद्द आमा बुवाको कारुणिक अवस्थासंग एकाकार गर्दै ठडिएको छ नाङ्गो डाँडा, चुरे पर्बत ।


    सिर्जनशीलता, काल्पनिकी तथा विश्लेषणमा रमाउने जो कोहीको अगाडी नाङ्गो डाँडाको कुरूप तस्बिर नेपालको बर्तमान अवस्थाको प्रतीक बनेर उभिदो रहेछ । देशको बागडोर सम्हालेका राजनीतिज्ञको कुशासनको प्रतीक, घुसखोरी र भ्रस्टाचारमा रुमलिएका कर्मचारीको कुशासनको प्रतीक, प्रकृतिको निर्मम दोहन गर्ने समुहहरुको निच स्वार्थको प्रतीक, समृद्दी चुम्न बिदेशिदा श्रीमती पिडित हुन पुगेका युवाहरुको मलिन अनुहारको प्रतीक, दुःख गरि पढाएका छोराहरु बिदेशीको दाशी हुदा बुढेसकालमा सहाराबिहिन भएका आमाबुवाहरुको ऊदास जिन्दगीको प्रतीक, यस्तै अनेकौं  बिकृति र विसंगतिको प्रतिनिधित्व गर्दै जिङ्गरिङ्ग भई ठडिएको देखिन्छ पुर्व पश्चिम फैलिएको नेपालीको गहना, चुरे पर्वत । बिदेशिएका करिब ७० लाख युवा युवतीहरुलाई रोजगार दिन सक्ने, लाखौ बिदेशी पर्यटकहरुलाई मोहित पार्न सक्ने नेपालीको शिर चुरे पाहाड बिक्षप्त देखिन्छ ।


    सिक्किम र दार्जलिङका साना कदका डाँडाहरुले पर्यावरणलाई सन्तुलित राखी रास्ट्रिय आम्दानीमा उल्लेखीय योगदान दिइरहदा नेपालका ठुला कदका पाहाड शृंखलाहरु नांगा र  बिरूप देखिनु एवम  पहिरोको चपेटामा पर्नु उदेग लाग्दो बिषय हो । हामी नेपालीको पुँजी  हिमाल, पाहाड र तराइको उचित संरक्षण, प्रबर्दन, उपयोग  र सदुपयोग गरि समृद्द नेपाल निर्माण गर्न नसक्नु हाम्रो नेतृत्वको अदुर दृष्टि र नालायकीपन दुवै हो । बर्तमानमा मानव अस्थिपन्जर जस्ता लाग्ने यी पाहाडहरु हाम्रो गौरवशाली इतिहास हो, अनि मानव अस्थित्वको भबिष्य पनि । निरन्तरको मानव अत्याचार, आसार  साउनको बर्षा, भेल र पहिरो तथा चैत बैशाखको चर्को घाम र हुरीको मारले नेपालीको शान चुरे पर्बत पूर्णतः नांगिएको छ, यस्तैरहे निकट भविष्यमा नासिने छ । चुरेसंगै हाम्रो भूगोल, रास्ट्रियता, इतिहास र राजनीति पुरै ढल्ने छ ।
बिगतमा महाभूल भइसक्यो, बर्तमानमा बिगतलाई कोट्याएर हाम्रो भबिष्य सुनिश्चित हुनै सक्दैन । बिगतका गल्तिहरुबाट पाठ सिकी अघि बढ्नुको अर्को बिकल्प हामीसंग छदै छैन। तिम्रा र तिम्रा सन्ततिहरुको उज्ज्वल भविष्यको लागि “मलाई बचाउ” भन्दै चिच्याइरहेको चुरेको चित्कार तराईका जिल्लाको बाटो हुदै यात्रा गर्ने हरेक नेपालीहरुले सुन्नु पर्दछ, अनि हरेक गाउ बस्तीमा रहनु भएका नेपालीहरुलाई यो चित्कार सुनाउनु पर्दछ । नांगिएको, भत्किएको, आफ्नो बिगतको भब्य शान गुमाएको चुरे पर्बतलाई हरियाली बनाउनु तीन करोड नेपालीको परम धर्म हो । नांगिएको डाँडा संरक्षणको पुण्य कर्मले हाम्रो र हाम्रा सन्ततिहरुको भबिष्य सुनिस्चित गर्ने छ ।


    पाहाड आफैले बोट बिरुवालाई हुर्कन दिनु बाहेक अर्को काम गर्दैन। यसले कथाहरुमा भनिए जस्तै  नत कुनै रुखमा पैसा नै फलाउन सक्दछ । यसलाई संरक्षण गरि अर्थोपार्जन गर्नु मानवीय कला हो । सिक्किमको सामान्य डाँडामा पवित्र मन्दिर, चारधाम निर्माणले लाखौ पर्यटक आकर्षित गरि हजारौलाई रोजगार दिन सक्दछ, दार्जलिङको चट्टानले प्रत्येक पर्यटकको खल्तीबाट पैसा झार्छ भने नेपालका बिशेष डाँडाहरु मुल्यहीन कवाडी वस्तु जस्ता हुनै सक्दैनन् । डाँडा कांडा, पाहाड पर्बत, हिम शृंखलाको संरक्षण , सदुपयोग र मानव कलाको उच्चतम समायोजनले साच्चै नै समृद्दी चुमाउन सक्दछ । नेपालको दुई नम्बर प्रदेश बाहेक अन्य छ वटै प्रदेशमा ठुला ठुला पहाड रहेको हुदा पर्यटन व्यवसायको बैज्ञानिक अध्ययन गरि सिक्किमी मोडेल लागू गर्न सकिन्छ ।


    उदाहरणको लागि प्रदेश नम्बर पाँच लाई लिऔं । नेपाललाई विश्वमा चिनाउने गौतम बुद्धको जन्मथलो लुम्बिनी तराइमा छ भने उत्तरतर्फका जिल्लाहरु अर्घाखाँची, गुल्मी, पाल्पा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुमा ठुला ठुला पहाडहरु छन । प्रकृतिका मनोरम दृश्यको मनोरन्जन लिनको लागि यी ठाउहरु उपयुक्त हुन सक्छन । पर्यटकहरुलाई आकर्षण गर्नको लागि केवल डाँडा काफी हुदैन, त्यहाँ भ्युप्वाइन्ट तथा भ्युटावरहरुको निर्माण, मठ, मन्दिर, गुम्बा, संग्रालय  निर्माणगर्दा प्रस्तुत भएको कला, नेपाली परम्परा, संस्कृति झल्काउने बिशेष ठाउहरुमा होमस्टेको उचित व्यवस्था लगायत अन्य सुविधाहरुको जरुरत पर्दछ । यस प्रदेशभित्रका तराइ तथा पाहाडका जिल्लाहरुलाई समेटी उचित स्पोर्टको पहिचान एवम पर्यटन कनेक्टिभिटी रुटको अवधारणा वा भनौ गुरु योजनामा पूर्वाधार निर्माण गर्न अब ढिलो गर्नु हुदैन । सवाल उठ्न सक्छ निर्माणको लागि पैसाको । बजेटले भ्याउछ भने सरकारले गरोस् । सरकारले सक्दैन भने निजि क्षेत्रलाई प्रस्ताव गरौँ । त्यसबाट पनि भएन भने यस क्षेत्रका विदेश गएका व्यक्तिहरुको परिवारको पहिचान गरौ, हरेक स्थानीय तहमा सम्मेलन गरौँ, अनि प्रत्येक परिवारलाई एक लाख शेयरको प्रस्ताव गरौँ । खरबौ रकम संकलन हुन सक्दछ । यहा रकमको होइन, सोच, योजना, दृढ संकल्प  र नेतृत्व प्रतिको बिश्वासको अभाव देखिएको छ । यस क्षेत्रका बौद्दिक तथा प्रभावशाली नेता एवम प्रदेश नम्बर पाँचका मुख्यमन्त्री लगायत  अन्य समन्धित निकायहरुको यसतर्फ ध्यान जाओस ।
    

अन्त्यमा, अनुशासन, शुशासन,सिर्जनशिलता, पर्यावरणको संरक्षण र सदुपयोग समृद्दिका पाँच सूत्रहरू हुन् भन्ने शिक्षा सिक्किमले दिएको छ । जिन्दगी वास्तवमै यात्रा हो। जिन्दगीका हरेक यात्रा फलदाई, अर्थपूर्ण र अविस्मरणीय हुनै सक्दैनन् । सधै देखि रहदा ख्याल नगरिएको चुरे पाहाडको नाङ्गो दृश्य यो यात्राले देखाइदियो । भबिष्य र समृद्दिका लागि डाँडा कांडा बचाउन र बचाउनका लागि अरुलाई प्रेरित गर्न चेत खोलिदियो । सहकर्र्मीहरुसंगको सहयात्रामा मष्तिस्कमा कैद भएको दृश्यले बर्तमान र भविष्यकालागि मार्गदर्शन गरेको छ । यात्राको प्रबन्ध गरिदिएकोमा यस क्षेत्रको शैक्षिक धरोहर न्यू लाईफ विद्यालयलाई धन्यवाद ।
        
    
    

प्रतिकृया दिनुहोस

लाखौ‌ रुपैयामा विक्रि हुन्छ मेलामा सँस्थाको नाम

वि‍.एन. सौगात बर्दघाट  हिजो आज जताततै मेला महोत्सवको रौनक छाएको छ । देशका विभिन्न ठाउहरुमा महोत्सव लागिरहेका छन् । प्राय: सवै महोत्सवमा केहि न

मेराे यादमा बडादशैं

लेखकः गणेश पाण्डे 'शिसम' नवरात्रीको अन्तिम दिन अर्थात दशौं दिनका दिन असत्य माथी सत्यको विजयउत्सवका रुपमा मनाईने हिन्दु धार्मीक मान्यता अनुरुपको

मानिस, मोबाइल र मृत्यु

दिनानाथ पौडेल  बर्दघाट १३ , नवलपरासी       एक्काईसौं सताब्दीको चिनारी प्रबिधि हो । यो मानव निर्मित सर्वोत्कृष्ट उपलब्धि हो भने मानव मृत्युको