• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:55

रमजान र सामाजिक सद्भाव

मो.ईजहार शेष

    हिज्री पात्रोको नवौं महिना रमजानमा विश्वभरका मुस्लिमहरू एकैसाथ रोजा (उपवास) बस्दछन् । यस महिनामा मुस्लिम समुदायका महिलापुरुष दुवै एक महिनै रोजा अर्थात व्रत बस्छन् । एक महिने व्रतलाई मुस्लिम समुदायले धार्मिक उत्सव मान्छन् । संसारका सबै मुस्लिम समुदायको लागि यो एक महिनाको निकै विशेष महत्त्व रहेको छ । नेपाल र भारतसहित पूर्वी देशहरुमा रमजान गत शक्रबारबाट सुरु भएको छ । रमजान महिनामा इस्लाम धर्मको धार्मिक ग्रन्थ कुराआन अवतरण भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । धार्मिक ग्रन्थ अनुसार अल्लाहको सबैभन्दा प्यारो तथा लगभग एक लाख चौबिस हजार सन्देष्टामध्ये सबैभन्दा अन्तिम र सबैभन्दा प्रभावशाली सन्देष्टा मोहम्मद सल्लअल्लाहो अलैहे ओसल्लम मक्काबाट मदिना हिज्जरत (प्रस्थान) गरेर गएको दुई वर्षपछिदेखि यस संसारमा हरेक सक्षम मुस्लिमका लागि रमजानको रोजा (व्रत) अनिवार्य भएको थियो । प्रत्येक बालिग (उमेर पुगेका) मुस्लिम समुदायका महिला वा पुरुष दुबैका लागि रमजानको रोजा अनिवार्य गरिएको मानिन्छ । यसै खुशियालीको अवसरमा मुसलमानहरु एक महिने कठोर व्रत बसी रमजान पर्व मनाउने गरिएको मुस्लिम ज्ञाताहरु बताउँछन् । रमजान महिनामा दैनिक करिब १५ देखि १६ घण्टा पानी पनि नखाई रोजेदारले आफूलाई कडा नियममा बाध्ने गर्छन् । हरेक वालिग, समझदार महिला तथा पुरुषमाथि रोजा अनिवार्य गरिएको छ । तर वृद्धवृद्धा, अशक्त वा दीर्घ रोगी, यात्री, गर्भवती, रजश्वला भएकी, सुत्केरी वा दूध चुसाउने महिलाहरूका लागि रोजा अनिवार्य गरिएको छैन । रमजान महिनाको रोजामा कुनै विशेष समयमा केही वस्तुहरूबाट निश्चित शर्तहरूका साथ सूर्याेदय हुनुभन्दा पूर्वदेखि सूर्यास्तसम्म विषेशतः खानपिन र सम्भोगबाट चित्तलाई अलग राख्नु नै रोजा हो ।  रोजाको वास्तविक उद्देश्य दिनभर खानपिनलाई छोड्नु मात्रै होइन । यसले मानिसमा आत्मशुद्धि, सन्तुष्टि र अल्लाहको भय उत्पन्न गराउँदछ । जसरी यो महिनामा कुविचार र कुकर्मबाट मानिस बच्छ, त्यही निरन्तरता अन्य ११ महिनामा पनि हुनुपर्ने व्यवहारिक प्रशीक्षण रोजाले दिन्छ । रोजाले मानिसलाई भलो र सदाचारी बन्न सहायता गर्छ । रमजानका केही महत्वपूर्ण विषयहरु ः 

सेहरी
    रातको आखिर प्रहरमा सूर्योदय हुनुपूर्व रोजाको नियतबाट खानपिन गर्नुलाई सेहरी भनिन्छ । सेहरी खानामा धेरै प्रतिदान र अभिवृद्धि रहेको बताइन्छ । रोजा राख्न नियत अनिवार्य गरिएको हुन्छ । सेहरी खान नपाए पनि रोजा भने अवश्य राख्नुपर्छ ।

ईफ्तार
     सूर्यास्तपश्चात् रोजा तोड्नका लागि केही खानपिन गर्नुलाई इफ्तार भनिन्छ । ईफ्तार मग्रीबको आजानसँगै गर्ने गरिन्छ, अर्थात त्यो दिनका लागि रोजा तोड्ने गरिन्छ । इफ्तारमा ढिला गर्नुहुन्न । व्रतालुहरूको पुकार इफ्तारको समयमा स्वीकार हुने मान्यता समेत छ । अर्कोतर्फ व्रतालुहरूलाई इफ्तार गराउनु अत्यधिक प्रतिदानको कार्य हो भन्ने मुस्लिमहरूको विश्वास छ । 

तराविह
     रमजान महिनामा विशेष किसिमको नमाज पढिन्छ, जसलाई तराविह भनिन्छ । यो रातमा पढिने नमाज हो । प्रायः तराविहमा सम्पूर्ण कुरानको पाठ गरिन्छ ।

शबेकद्र र कुरान
       रमजान महिनाको आखिरी भागमा “शबे कद्र” अर्थात् सम्मानित रातमा मानव जातिको मार्गदर्शनको लागि अल्लाहको तर्फबाट हजरत मुहम्मदमाथि कुरान अवतरित गर्न प्रारम्भ गरिएको थियो । यसलाई “लैलतुल कद्र” पनि भनिन्छ । यस दिव्य रातलाई हजारौँ महिनाभन्दा उत्तम भनेर कुरानले वर्णन गरेको छ । यस रातमा ईशदूतहरू पलनहारको निर्देशनअनुसार हरेक कार्यको व्यवस्थाका लागि अवतरित हुन्छन् भन्ने विश्वास छ । रोजा र कुरानबीच घनिष्ठ सम्बन्ध रहेको छ । यो महिनामा धेरैभन्दा धेरै कुरानको पाठ गर्नु पर्छ । कुरानमा कुल ११४ सूरह (अध्याय) र ६६६६ आयात (श्लोकहरू) रहेका छन ।

सदका ­ए­ फित्र
      सदका­ए­फित्र तथा जकात (धर्मादान) द्वारा इस्लाम सामाजिक न्यायको व्यवहारिक आर्थिक उदाहरण प्रस्तुत गर्छ । इदको नमाजभन्दा पहिला नै सदका­ए­फित्र दिनुपर्छ । सदका­ए­ फित्रबाट सङ्कलित रकम गरिब, मजदुर तथा बेसहारा मानिसहरूलाई दिनुपर्छ । जोसँग प्रचलित साढे ७ तोला ५२ तोला सुन वा साढे ५२ तोला चाँदी मूल्य बराबरको चलअचल सम्पत्ति छ, त्यस्ता व्यक्तिहरूले आफू र आफ्नो परिवारका सदस्यहरूको फित्र दिनुपर्छ । फित्रको मात्रा पनि इस्लामले निर्धारण गरिदिएको छ । पौने दुई सेर गहुँ वा साढे ३ सेर जौ वा यसको पीठो वा यसको मूल्य बराबरको कुनै अनाज प्रति व्यक्तिको दरले गरिबलाई दिनुपर्ने हुन्छ । त्यस्ता व्यक्ति सद्काको हकदार हुन्छन, जसमाथि सदका अनिवार्य छैन । यस दानबाट रोजामा भएका केही सानातिना त्रुटिहरू माफ हुने विश्वास गरिएको पाइन्छ ।

जकात
      जकातको अर्थ पवित्र गर्नु वा असल पार्नु हो । कुनै व्यक्तिसँग भएको सुन, चाँदी, अन्न वा जनावर इस्लामी विधिशास्त्रले तोकेको सीमा पुगिसकेको छ भने त्यस्तो व्यक्तिको सञ्चित रकमको निश्चित परिणाममा समुदायको अधिकार हुन जान्छ । यसलाई नै जकात भनिन्छ । जकात आफ्नो आयको केही निश्चित प्रतिशत दान दिने गरिन्छ । एक परिवारका सबै सदस्यको नामबाट जकात दिनुपर्ने ब्यवस्था छ । आयस्रोत नहुने, गरिब, नोकरको स्वतन्त्रता, ऋणीहरूको कर्जा तिर्न आदिमा उक्त जकातबाट सङ्कलित रकम प्रयोग गर्न सकिन्छ । जकात गाउँका मदरर्सा वा सिधै विपन्न र आवश्यक ब्यक्तिलाई दिन सकिन्छ । 

ईदुल्फीत्र
     हिज्री पात्रोको १० औं महिना सौवाल हो । सौवाल महिनाको पहिलो तारिखमा “ईदुल फित्र” पर्व धुमधामसँग मनाईन्छ । यो दिन बिहानै चाडैं उठेर नुहाइधुवाइ, नयाँ लुगालगाइ मुस्लिम समुदाय एक विशेष नमाज पढ्नका लागि इदगाह वा मस्जिदमा तोकिएको निर्धा्रित समयमा भेलाभइ इदको नमाज पढ्ने गर्छन् । नमाज पूरा हुन साथ एकआपसमा अंगालो मारेर इद मुबारक भनी खुशी साटासाट गर्छन् । मिठामिठा परिकार बनाएर आफन्त,इष्टमित्र,छरछिमेकी,गरिब,अनाथलगायत सबैलाई बोलाएर खान दिने र आफू पनि खाने गर्छन् । यसरी पुरानो कुनै रिसिइबी भए यस दिनबाट सबै रिसिइबीबिर्सेर प्रेम र उत्साहका साथ इदउल भित्र मनाउने गरिन्छ । 

सामाजिक सद्भाव
     विभिन्न जातजाति, समूदायको बीचमा अल्पसंख्यक मुस्लिम समूदाय बस्दै आए पनि कुनै मतभेद भएको पाइँदैन् । मुस्लिमहरुको पर्व होस चाहे अन्य धर्मको पर्व सबै समूदाय उत्तीकै उत्साहपूर्ण तरिकाले धार्मिक सहिष्णुतालाई मजबुत बनाउने गरी नेपालमा मुस्लिमहरुले बस्दै आएका छन् । एक अर्काको पर्वलाई सम्मान गर्ने गरेको पाउन सकिन्छ । नेपाली मुस्लिम विश्वभरिकै मुसलमानहरूको तुलनामा शान्ति प्रेमी छन् । नेपालमा मध्यकालीन इतिहासदेखि नै सामाजिक सद्भाव र सहिष्णुतालाई मन पराएको देखिन्छ । विविधताले भरिपूर्ण समाजमा सहअस्तित्वको आधारमा मिलिजुली बसेका हुन् । पहाडमा न्यून संख्यामा मुस्लिमहरू छन् । तर, उनीहरू ससम्मान पहाडी समाजसँग घुलमिल भएर बसेका छन् । तराई मधेशमा पनि मुस्लिमहरू अन्य समुदायसँग सौहार्द्रपूर्ण वातावरणमा बस्दै आएका छन् । शान्त स्वभाव र सहिष्णु प्रवृत्तिले गर्दा देशभर नै ठूलो संख्यामा सहज रुपमा मस्जिद, मद्रसा, कब्रिस्तान लगायत सञ्चालनमा रहेका छन् । विगतको जस्तै यो वर्षको रमजान महिनाले पनि नेपाली समाजमा मानवता, आपसी सदभाव, भाइचारा कायम भई मुलुकमा  समृद्धिको युग सुरु होस् । रमजानको हार्दिक शुभकामना ! 

प्रतिकृया दिनुहोस

लाखौ‌ रुपैयामा विक्रि हुन्छ मेलामा सँस्थाको नाम

वि‍.एन. सौगात बर्दघाट  हिजो आज जताततै मेला महोत्सवको रौनक छाएको छ । देशका विभिन्न ठाउहरुमा महोत्सव लागिरहेका छन् । प्राय: सवै महोत्सवमा केहि न

यात्रा, दृश्य र भविष्य

    दिनानाथ पौडेल  बर्दघाट–१३ , नवलपरासी      बर्दघाट अवस्थित न्यू लाईफ माध्यमिक विद्यालयले आफ्ना शिक्षक शिक्षिकाहरुलाई पूर्र्वी

मेराे यादमा बडादशैं

लेखकः गणेश पाण्डे 'शिसम' नवरात्रीको अन्तिम दिन अर्थात दशौं दिनका दिन असत्य माथी सत्यको विजयउत्सवका रुपमा मनाईने हिन्दु धार्मीक मान्यता अनुरुपको